विश्व

विश्व शान्तिका लागि सहकार्य गर्न अमेरिका, चीन र रुसबीच सहमति



एजेन्सी, ४ मंसिर । विश्वका तीन महाशक्ति देशहरु अमेरिका, चीन र रुसबीच आणविक जोखिम न्यूनीकरण, हतियार नियन्त्रण तथा विश्व शान्तिका लागि सहकार्य गर्ने सहमति भएको छ ।

चीनको सेन्जेनमा दुई दिनसम्म चलेको ३३औँ एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा तीन देशका राष्ट्रप्रमुखबीच यस्तो सहमति भएको हो ।

सम्मेलनको अन्तिम दिन हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच एक घण्टाभन्दा बढी समय त्रिपक्षीय वार्ता भएको छ ।

वार्ताका क्रममा आणविक जोखिम न्यूनीकरण र हतियार नियन्त्रणका विषयमा संवाद जारी राख्ने, विश्व ऊर्जा आपूर्तिलाई स्थिर बनाउन प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन बढाउने तथा संयुक्त राष्ट्रसङ्घमा सुधारका लागि पहल गर्ने विषयमा सहमति जुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ राष्ट्रपति सीले आणविक युद्ध रोक्न विश्वका सबै देशले सक्दो प्रयास गर्नुपर्नेमा जोड दिनुभएको छ । युक्रेन युद्ध अन्त्य गर्ने विषयमा पनि तीनै देशको साझा चासो रहेको रुसी राष्ट्रपति पुटिनले बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच छुट्टै बन्द कोठामा द्विपक्षीय संवादसमेत भएको छ । यद्यपि बैठकमा युक्रेन युद्धलगायत विवादित विषयमा तत्काल कार्यान्वयन गर्न सकिने ठोस सम्झौता भने हुन सकेन ।

‘समृद्धिका लागि एशिया–प्रशान्त समुदायको निर्माण’ भन्ने नारा सहित आयोजित सम्मेलनमा २१ सदस्य अर्थतन्त्रका राष्ट्र तथा सरकार प्रमुखहरूको सहभागिता थियो । सम्मेलनको समापनसँगै सदस्य राष्ट्रका नेताहरूले क्षेत्रीय व्यापार विस्तार, आपूर्ति शृङ्खला सुदृढीकरण र आर्थिक खुलापन प्रवद्र्धन गर्ने प्रतिबद्धतासहित संयुक्त वक्तव्य जारी गरेका छन् ।

३४औँ एपेक शिखर सम्मेलन सन् २०२७ मा भियतनामको फु क्वोक टापुमा आयोजना हुने तय भएको छ ।