भक्तपुर, ५ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत प्रतिनिधिसभा निर्वाचनमा जस्तै हावाहुरी ल्याएर स्थानीय र प्रदेशसभा निर्वाचन जित्ने सोच नराख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चेतावनी दिएका छन् ।
शनिबार भक्तपुरमा नेपाली कम्युनिस्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै दाहालले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संविधानले तोकेको कार्यकाल र समय सीमाअनुसार छुट्टाछुट्टै हुनुपर्ने बताए । स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल जेठ ५ गतेसम्म र प्रदेशसभाको कार्यकाल मङ्सिर ५ गतेसम्म रहेकाले सोही समय सीमालाई आधार मानेर निर्वाचन गर्नुपर्ने दाहालले बताए । एक ठाउँमा संविधान र कानुन मिच्ने बाटो खोलिए त्यसले अन्य संवैधानिक व्यवस्थामाथि समेत प्रश्न उठाउने र प्रतिगामी शक्तिले त्यसलाई अवसरका रूपमा प्रयोग गर्न सक्ने दाहालले चेतावनी दिए ।
उनले भने, ‘निर्वाचनको नाममा संविधान र कानुन मिच्ने प्रयासले देशमा थप राजनीतिक सङ्कट निम्त्याउन सक्ने भएकाले सबै राजनीतिक दल जिम्मेवार र सचेत हुन आवश्यक छ । लोकतान्त्रिक व्यवस्था, संविधान र कानुनी शासनको रक्षा गर्दै निर्वाचन प्रक्रिया अघि बढाउनुपर्छ ।’
कार्यक्रममा दाहालले आगामी राजनीतिक प्रतिस्पर्धा भाषण र आमसभामा मात्र सीमित नरहने भन्दै सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई पार्टीले प्राथमिकता दिनुपर्ने बताए ।










प्रतिक्रिया दिनुहोस्