काठमाडौँ, ९ मंसिर । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउन हरसम्भव प्रयत्न गरिरहेको बताएका छन् ।
इजरायली राजदूतावासमा मङ्गलबार अपराह्न ‘इजरायल साइबर तथा कृत्रिम बौद्धिकता’ विषयमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकारले नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकता दिएर बेग्लै मन्त्रालयसमेत स्थापना गरेको बताए । सरकारले पहिलोपटक पुँजीगत खर्चको एक प्रतिशत रकम अनुसन्धान तथा नवप्रवर्तनका लागि छुट्याएको जानकारी दिए ।
मन्त्री पुनले भने, “सम्माननीय प्रधानमन्त्री अनुसन्धान र नवप्रवर्तनका माध्यमबाट नै राष्ट्रलाई समृद्धिको मार्गमा अग्रसर गराउनुपर्छ भन्नेमा दृढ हुनुहुन्छ ।”
कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, ड्रोन, कृषि तथा जैविक चिकित्सा इन्जिनियरिङलगायत क्षेत्रमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना सरकारको रहेको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्