रोल्पा, ९ मंसिर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सधैँ सत्तामा नरहने भन्दै राज्यका संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने औजार नबनाउन चेतावनी दिएका छन् ।
रोल्पाको पाछावाङमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै नेता पुनले अहिले सत्तामा रहेकाले राज्य संयन्त्रको दुरुपयोग गरे भोलि सत्तामा आउनेले पनि उनीहरूमाथि बदला लिने प्रवृत्ति बढ्ने र अन्ततः यसले लोकतान्त्रिक प्रणाली कमजोर बनाउँदै राज्यलाई स्वेच्छाचारी बनाउने खतरा रहेको बताए । पुनले प्रहरी, प्रशासन, न्यायालय र संवैधानिक निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने बताए ।
‘प्रहरीमा उजुरी परेपछि स्वतन्त्र रूपमा अनुसन्धान हुनुपर्छ । प्रधानमन्त्रीका सल्लाहकार वा मन्त्रीका सल्लाहकारले यसलाई मुद्दा चलाऊ, त्यसलाई छानबिन गर भन्ने हो भने निष्पक्षता कहाँ रहन्छ ?’ उनले प्रश्न गरे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्रीलाई समेत बोलाएर छानबिन गर्न सक्ने स्वतन्त्रता हुनुपर्ने उनले बताए । राज्यका निकायलाई सत्ताको स्वार्थअनुसार परिचालन गर्दा आज एउटा पक्षले प्रतिशोध साँध्ने र भोलि अर्को पक्ष सत्तामा पुगेपछि त्यसैको बदला लिने चक्र चलिरहने चिन्ता उनले व्यक्त गरे ।
उनले भने, ‘सधैँ कोही मान्छेले जित्दैन, सधैँ कोही सत्तामा पनि हुँदैन । सधैँ कोही प्रतिपक्षमा पनि हुँदैन । आज को पर्यो, भोलि को पर्छ र पर्सि को आउँछ भन्दा पनि लोकतन्त्र र प्रणाली जोगिनुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्