समाचार

नेप्सेम्याकले खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गर्ने



भक्तपुर, १० मंसिर । ‘सफा शहर, सभ्य नागरिक र स्वस्थ समाज’ निर्माण गर्ने लक्ष्यका साथ सञ्चालनमा रहेको नेप्सेम्याकले एकै दिन दुई कार्यक्रम आयोजना गर्ने भएको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत प्रत्येक वर्ष आयोजना गर्ने गरेको नेप्सेम्याकले यो वर्ष पनि मंसिर १२ गते शनिबार नेप्सेम्याकको कार्यालय राधेराधे भक्तपुरमा खुला रक्तदान तथा नसर्ने रोगहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको हो । बिहान ७ः१५ बजेदेखि ११ः३० बजेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन तथा रक्तदान गर्न आयोजकले सबैलाई आग्रह गरेको छ ।

नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक)को सक्रिय संयोजनमा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुर र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको हो । वातावरण प्रदुषण नियन्त्रण गर्ने मात्र नभई सामाजिक उत्तरदायित्व पुरा गर्न आफ्ना सदस्यहरुलाई निरोगी बनाउन सार्थ रोगसम्बन्धी सचेतना गराउन उक्त कार्यक्रम आयोजना गरिएको नेप्सेम्याकले जनाएको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सञ्चालन गरिने नेप्सेम्याकले जनाएको छ ।