काठमाडौँ, १२ मंसिर । धनकुटाको सहिदभूमि गाउँपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका वडा नं. २ कबिर टोलका ४३ वर्षीय रामकुमार राई रहेका छन् । उनी पिप्ले फ्युज सेवामा ज्यालादारी कर्मचारीका रूपमा कार्यरत थिए ।
शुक्रबार बेलुका स्थानीय ट्रान्सफर्मरमा समस्या आएपछि राई विद्युत् मर्मतका लागि पोलमा चढेका थिए । मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेपछि उनी पोलबाट खसेर गम्भीर घाइते भएका थिए ।
करेन्ट लागेर पोलबाट खसेका राईको नाकबाट रगत बगिरहेको र बोल्नसमेत नसक्ने अवस्था रहेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घाइते राईलाई एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल धनकुटा पुर्याइएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई शुक्रबार राति मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्