राजनीति

युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ : पूर्वमन्त्री आले



कैलाली, २ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार एवं पूर्वमन्त्री प्रेमबहादुर आले ले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्यसहित सीपमूलक कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

धनगढी उपमहानगरपालिका द्वारा आयोजित ‘सीप तथा रोजगार मेला–२०८२’ को शुक्रबार निरीक्षण तथा अवलोकन गर्दै उहाँले वर्तमान समयमा बढ्दो बेरोजगारी समस्याको समाधान सीप विकास र उद्यमशीलता प्रवद्र्धनमार्फत मात्रै सम्भव रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशको ठूलो जनसंख्या युवाहरूको छ । यदि युवालाई समयमै प्राविधिक तथा व्यवसायिक सीप प्रदान गर्न सकियो भने उनीहरू रोजगार खोज्ने होइन, रोजगार दिने अवस्थामा पुग्न सक्छन् । त्यसैले युवाहरूलाई व्यवसायिक सीप सिकेर स्वरोजगार एवं आत्मनिर्भर बनाउनु आवश्यक छ ।”

यसैगरी पूर्वमन्त्री आलेले युवाको रुचि र बजारको मागअनुसारका तालिम कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । परम्परागत तालिमभन्दा पनि सूचना प्रविधि, कृषि आधुनिकीकरण, पर्यटन, निर्माण, साना तथा घरेलु उद्योगजस्ता क्षेत्रमा आधारित तालिमले दिगो रोजगारी सिर्जना गर्न सक्ने उहाँको भनाइ थियो ।

“युवाहरुका चाहना अनुसारका विभिन्न प्राविधिक तथा व्यवसायिक सीप तालिम र कार्यक्रमलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ,” उहाँले भन्नुभयो, “सीप विकाससँगै सहुलियत ऋण, बजार पहुँच र परामर्श सेवा उपलब्ध गराउन सके स्वरोजगार अभियान प्रभावकारी हुन्छ ।”