राजनीति

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ: रामप्रसाद भण्डारी



काठमाडौँ, २ फागुन । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन गर्ने बताएका छन् ।

निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार विषयक कार्यशाला गोष्ठी एवं मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम समापन कार्यक्रममा उहाँले विसं २०७८ को जनगणना अनुसार महिलाको जनसङ्ख्या बढी भए पनि मतदाता नामावलीमा कम देखिएपछि अध्ययन गर्न लागिएको जानकारी गराए । उनले यस विषयमा अध्ययन गरेर आगामी दिनमा यस्तो नहुने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।

विदेशमा बस्ने मतदाताले मत हाल्न पाउने कानुन नभएकाले यस वर्षको निर्वाचनमा यस्तो व्यवस्था गर्न नसकिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जानकारी दिए । यस पटक आयोगले मितव्ययी निर्वाचन गर्न लागेको उल्लेख गर्दै उनले विदेशी विकास साझेदारसँग यस पटक आयोगले सहयोग नलिएको बताए ।

कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि आयोगले हालसम्म गरेका मुख्य मुख्य गतिविधिहरू’, सहसचिव यज्ञप्रसाद भट्टराईले ‘निर्वाचन आचारसंहितामा भएका मुख्य मुख्य व्यवस्था, कार्यान्वयनको अवस्था र सञ्चारमाध्यमले पालना गर्नुपर्ने आचरण’ विषयमा प्रस्तुतिसहित प्रशिक्षण दिएका थिए ।

उपसचिव कमल ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा सहसचिव राजेन्द्रकुमार केसीले ‘मतदाता शिक्षा विशेष कार्यक्रम, नमूना मतपत्र, मतदान गर्ने सही तरिका तथा मतपत्र बदर हुने अवस्था’, उपसचिव योगेश अर्यालले ‘आयोगले सञ्चालन गरेका सूचना प्रणाली वेबसाइटमा भएका सूचना एवं जानकारी तथा सामाजिक सञ्चालन अवलोकन र सञ्चालन गर्ने तरिकाबारे जानकारी’ र रजनीश भण्डारीले ‘निर्वाचनमा सञ्चारमाध्यमको भूमिका र दायित्व तथा सामाजिक सञ्जालको प्रयोग तथा अनुगमन’ विषयमा प्रस्तुतिसहित प्रशिक्षण दिएका थिए ।