राजनीति

निरन्तर निर्वाचन क्षेत्रमा केन्द्रित ओली, आज फेरि झापा आउँदै (यस्तो छ कार्यतालिका)



दमक, ३ फागुन । अघिल्ला निर्वाचनको तुलनामा यसपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रमा निकै सक्रिय देखिनु भएको छ ।

यसअघि आमसभा र केही सीमित कार्यक्रममै देखिने ओली अहिले भने मतदाताको घर–घर पुग्दै प्रत्यक्ष भेटघाटमा जुट्नु भएको छ। यो सक्रियता केवल चुनावी रणनीति मात्रै होइन, पछिल्लो समय बढ्दै गएको राजनीतिक दबाब र आफ्नै क्षेत्रमा देखिएका केही चुनौतीका कारण पनि हुनसक्ने संकेत देखिन्छ ।

गत माघ २३ गते झापा आएर ७ दिनमा करिब ८० वटा गाउँ घुमी काठमाडौं फर्कनु भएका ओली आज फेरि झापा आउन लाग्नु भएको हो। उहाँ बिहान १० बजेर २० मिनेटमा काठमाडौंबाट भद्रपुर विमानस्थल अवतरण गरी निर्वाचन क्षेत्रमा प्रवेश गर्नुहुने कार्यक्रम छ ।

आजको कार्यक्रमअनुसार ओली शिक्षक भेला, धिमाल जातिको भेला तथा मुस्लिम समुदायका नागरिकसँगको भेलामा सहभागी हुनुहुने छ। त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता र आम नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनु भएको छ।

एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै बस्नुहुने छ। यो अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा पुगेर घरदैलो कार्यक्रम गर्ने कार्यतालिका बनाइँदैछ। हरेक दिन कम्तीमा ६ देखि ७ स्थानमा कार्यक्रम पुग्ने गरी रुट मिलाइएको छ।

एमाले दमकका अध्यक्ष राम पौडेलका अनुसार सोमबार बिहान ११ बजे दमक–५ को यलम्बर चोक, ११:५० मा दमक–६ को शंखधर चोक, दिउँसो १ बजे दमक–७ को तबिन चोक, २ बजे दमक–१ को हल्दार चोक, ३ बजे दमक–३ को गजकाली मन्दिर र अपरान्ह ४ बजे दमक–३ कै आमचोकमा कार्यक्रम आयोजना गरिएको छ। यी सबै स्थानमा ओलीले स्थानीयसँग प्रत्यक्ष संवाद गर्न सक्ने वातावरण मिलाइएको अध्यक्ष पौडेलले बताउनुभयो।