भक्तपुर, ४ फागुन । नेकपा (एमाले)का सचिव तथा एमाले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश महेश बस्नेतले आजदेखी घरदैलो अभियान शुरु गर्नुभएको छ ।
आगामी फागुन २१ गते प्रतिनिधिसभाका उम्मेदवारको लागि निर्वाचन आयोगले आजदेखी १७ गतेसम्म निर्वाचन प्रचारप्रसारको लागि समय निर्धारण गरेको हो । सोही अनुसार सचिव बस्नेतले आफ्नो घरदैलो सूर्यविनायक नगरपालिका वडा नं. ५ बाट सयौंको संख्यासहित शुरुवात गर्नुभएको हो । यो पटक एमालेले घरदैलो कार्यक्रम भने वडा केन्द्रीत गरेको छ । जिल्ला पार्टीको समन्वयमा वडा कमिटीको व्यवस्थापनमा हुने एमालेले जनाएको छ । जसमा आफ्नो वडाका मात्र स्थानीयवासी तथा कार्यकर्ताहरुको उपस्थिती रहनेछ । आजको कार्यक्रममा पनि सोही वडाका नागरिक तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
आजको अभियान विहान ७ बजे तिमल्सिना चोकबाट शुरु भएको अभियान वडा नं. ५ कै सिर्जनशील टोलमा पुगेर सम्पन्न भएको छ । एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष किरण थापासहित नेता कार्याकर्ता तथा स्थानीयवासीको सहभागितामा तिमल्सिना चोक, गुमान्जु टोल, चक्रपाणी चोक, कोलडाँडा क्षेत्र, सिरुफाँट टोल, गडेधारा टोल, त्वायाना टोल, थापा÷कोइराला टोल, शुसीला भैरव क्षेत्र, वडाचौर क्षेत्र, जोशी÷शाहु श्रेष्ठ टोल, तज टोल, सूर्यनगर टोल, शान्तिनगर टोल, ओम शान्ती टोल, ताम्राकार हाइट, मनोरम टोल, किराँत मार्ग, समावेशी टोल हुँदै सिर्जनशील टोलमा पुगेर अन्त्य भएको हो ।
कार्यक्रममा टोल टोलमा स्थानीयवासीले स्वागत गरेका थिए । स्वागत गर्दै स्थानीयवासीले टोल तथा समाजका समस्या तथा आवश्यकताको बारेमा जानकारी गारएका थिए । स्थानीयवासीले ढल, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, सहकारीको समस्या तथा रोजगारीको बारेमा विशेष माग गरेका छन् ।
स्थानीयको मागपछि उम्मेदवार बस्नेतले सो मागहरु आफ्नै भएकाले पुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जनताको मागभन्दा माथि उठेर भक्तपुरको विकास र समृद्धिको नेतृत्व गर्ने प्रतिवद्धता जनाउँदै उहाँले खानेपानीको समस्या मेलम्चीमा जडान गरी समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै स्थानीय तहले गर्नुपर्नेहरुलाई सोही वडाका वडाध्यक्ष राजकुमार जोशीलाई तत्काल समस्या समाधान गरिदिन आग्रह गर्नुभयो । जनतालाई शीरमा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले जनताको गुनासो नआउने गरी कार्य गर्न समेत स्थानीय तहलाई आग्रह गर्नुभयो । स्थानीय, प्रदेश तथा संघीय गरी सवैको समन्वयमा आगामी दिनमा भक्तपुरमा जनताका मागहरु शतप्रतिशत पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘भक्तपुरमा ढल, सडक, खानेपानी, सहकारी लगायतका समस्याहरु समाधान गरिदिनुपर्ने माग स्थानीयवासीको रहेको छ । त्यो मेरो आफ्नै समस्या जस्तै हो । भक्तपुवासीको समस्या नै मेरो समस्या हो । तसर्थः जनताको न्युनतम् आवश्यकता पुरा हुन्छ । त्यो भन्दा माथि उठेर भक्तपुरको विकास र समृद्धिको साथमा नयाँ नयाँ कार्यहरु गर्नुपर्नेछ । रोजगारी शिर्जना गर्नुछ । शिक्षा, पर्यटन, खेदकुदलाई उद्योग र रोजगारीसँग जोडेर आर्थिक समृद्धिको अभियान अबको मेरो प्राथमिकता हो । जसले गर्दा भक्तपुरका जनतामा रोजगारबाट आर्थिक सशक्तीकरण हुनेछ । रोजगारीको खोजिमा विदेश जानुपर्ने वाध्यतालाई न्युनिकरण हुनेछ ।’
स्थानीयवासीले महेश बस्नेतले अघिल्लो पटक पराजय व्यहोरेकाले भक्तपुर विकासमा धेरै पछि परेका यो पटक बस्नेतको विकल्प नभएको उल्लेख गरेका छन् । आफ्नो मतको अधिकार विकास र समृद्धिमा हुनुपर्नेमा जोड दिँदै स्थानीयवासीले हिजो के भयो ? भन्दा पनि आगामी दिनमा के गर्ने ? भन्ने मुख्य कुरा भएको बताए । उनीहरुले भने, ‘हिजोको गल्ती अब भक्तपुरमा दोहोर्याउनु हुँदैन । जनताले हिजो, आज र भोलीको विषयमा गम्भीर भएर सोचविचार गरी मतदान गर्नुपर्छ । हामीलाई नेतृत्वको ओत आवश्यक छ, त्यही अनुसार गुगलको नभई भुगोलको नेतृत्व भक्तपुरवासीको चाहना हो । त्यो निर्वाचनमा मतदानबाट प्रकट हुन्छ ।’









प्रतिक्रिया दिनुहोस्