Banner News

निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : प्रमुख निर्वाचन आयुक्त भण्डारी



काठमाडौँ, ७ फागुन । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न नपाइने स्पष्ट पारेका छन् ।

आज १० औँ निर्वाचन दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले निर्वाचन आचारसंहिताले मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्न निषेध गरेको बताए । 

उनले कुनैपनि प्रेससँग सम्बन्धित व्यक्ति वा संस्थाले मत सर्वेक्षण गरेर ‘फलानो उम्मेदवार जित्यो’ वा ‘फलानो हार्‍यो’ भनेर अग्रिम घोषणा गर्न नपाइने उल्लेख गरे । उनका अनुसार हाल निर्वाचनको लागि सामाजिक सञ्जाल र प्रेस जगत सबैभन्दा पेचिलो विषय बनेको छ ।

केही अनलाइन माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले संविधानको धारा १९ अनुसार अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित गरिएको गुनासो गर्दै आयोगसमक्ष विषय उठाएको भएपनि पूर्वसन्ध्यामा मत सर्वेक्षण गरी परिणाम घोषणा गर्दा अन्य प्रतिष्पर्धीको मनोबल घट्ने र मतदातामा भ्रम तथा प्रभाव पर्नसक्ने भएकाले यस्तो कार्य कारबाहीको विषय बन्ने उनले स्पष्ट पारे।