काठमाडौँ, ७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यथासम्भव निर्वाचनपूर्व नै राष्ट्रिय समस्याको समाधानका निम्ति समझदारी कायम गर्न सरकार र राजनीतिक दलहरूसँग आग्रह गरेको छ ।
आज बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले पूर्वराजाको सन्देश तथा पार्टीको नीतिअनुरूप उच्च मनोबलका साथ चुनावी अभियानमा समेत नवीन समझदारीको निम्ति दबाब दिने निर्णय गरेको छ ।
बैठकले आम जनतालाई जागरुक तुल्याउन राप्रपाले आह्वान गरेको हो । बैठकले पूर्वराजा ज्ञानेन्द्रबाट प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा देशवासीको नाममा दिइएको सन्देशमा व्यक्त विचारको स्वागत र समर्थन गरेको छ ।
राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो,” ।









प्रतिक्रिया दिनुहोस्