Banner News

एमालेको झण्डा जलाउनेमाथि कारबाहीको माग, संयमतालाई कमजोरी नठान्न चेतावनी



काठमाडौँ, ८ फागुन । नेकपा (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले आफ्नो पार्टीको झण्डा जलाएको भन्दै आपत्ति जनाएको छ । 

गएराति दाङको तुलसीपुरमा रास्वपाका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको भन्दै पार्टीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको हो । एमालेले यस घटनालाई राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्यको संज्ञा दिएको छ ।

 विज्ञप्तिमा भनिएको छ, ‘लाखौं जनतामा लोकप्रिय हाम्रो पार्टीको आस्थामा चोट पुर्‍याउने गरी झण्डामा आगो लगाउनेहरू उनै देश जलाउनेहरू हुन् भन्ने यो घटनाले पुष्टि गरेको छ ।’

एमालेले यसलाई लोकतन्त्रको परिधिबाहिरको कार्य भन्दै रास्वपाको यो हर्कतले मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने र चुनावी द्वन्द्व निम्त्याउने प्रयास गरेको आरोप लगाएको छ। एमालेले आफू अनुशासित पार्टी भएको तर संयमतालाई कमजोरी नठान्न चेतावनी समेत दिएको छ । घटनामा संलग्नहरूको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत एमालेले गराएको छ ।