काठमाडौँ, ८ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई अनुशासनको कारबाही गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय अनुशासन समिति बैठकले बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि अर्को बैठकबाट कारबाही गर्ने तयारी गरेको हो । गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट आएको कार्यसमितिले तारामान गुरुङको संयोजकत्वमा अनुशासन समिति बनाएको थियो । त्यो समितिको शुक्रबार पहिलो बैठक बसेको हो ।
कांग्रेसका ३ नेताले दिएको बागी उम्मेदवारी फिर्ता लिएका छैनन् । कांग्रेसबाट कपिलवस्तु–१, सप्तरी–४ र पर्सा ४ मा बागी उम्मेदवार छन् । कपिलवस्तु १ मा आषिश शर्माले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, भारतका लागि पूर्वराजदूत र पूर्वमन्त्री दीपकुमार उपाध्यायका छोरा हुन् ।
सप्तरी ४ मा पार्टीका प्रतिनिधिसभा क्षेत्रीय सभापति सिताराम शाह, पर्सा ४ मा पार्टीको प्रदेशसभा क्षेत्रीय सभापति रामलखन महतोले बागी उम्मेदवारी दर्ता गराएका छन् ।










प्रतिक्रिया दिनुहोस्