राजनीति

फेवा किनारमा बनाइएका अवैध संरचना हटाउन पोखरा महानगरको अल्टिमेटम



पोखरा, ९ फागुन । फेवाताल किनारमा निर्माण गरिएका अवैध संरचना १५ दिनभित्र हटाउन पोखरा महानगरपालिकाले चेतावनी दिएको छ ।

महानगरले सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन भनेको अल्टिमेटम दिएको हो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा तालको सिमाङ्कन सकिएकोले मापदण्डभित्र अवैध संरचना नबनाउन महानगरले निर्देशन दिएको छ । तोकिएको समयभित्र संरचना नहटाए महानगरपालिकाले कानुन बमोजिम हटाउनेछ चेतावनी दिएको छ । हटाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुलउपर गर्ने महानगरले जनाएको छ । ६५ मिटर क्षेत्रभित्र पर्ने जग्गाको वर्गीकरण सम्बन्धी कार्य अन्तिम चरणमा छ । 

‘सिमाकंन पूर्व निर्माण भएका संरचनाहरू सर्वोच्च अदालतको आदेश बमोजिम हुने भएकाले तालको उच्चतम विन्दुबाट ६५ मिटर भित्र नयाँ संरचना निर्माण नगर्न/नगराउन महानगरपालिकाले पटक पटक आग्रह गर्दै आइरहेको छ’, सूचनामा भनिएको छ, ‘तर पनि अटेर गरी सिमाङ्कन पश्चात् निर्माण गरिएका सम्पूर्ण अनधिकृत संरचनाहरू यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र हटाउनुहुन सम्बन्धित निर्माणकर्तालाई सूचित गरिन्छ ।’