राजनीति

६ बुँदे सहमतिसँगै रौतहटमा साम्प्रदायिक तनाव सामान्य



रौतहट, ९ फागुन । रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सवगढामा भएको साम्प्रदायिक झडपपछि जिल्ला प्रशासनको पहलमा दुवै पक्षबिच ६ बुँदे सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटको सभाकक्षमा भएको सहमतिसँगै क्षेत्रमा उत्पन्न तनाव सामान्य बन्दै गएको प्रशासनले जनाएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भुसालको उपस्थितिमा शुक्रबार भएको वार्ता भएको थियो । सहमतिमा सामाजिक सद्भाव कायम गर्ने, आपसी संयमता अपनाउने, कुनै पनि अफवाह नफैलाउने तथा आउँदो फागुन २१ गते हुने निर्वाचनमा शान्तिपूर्ण सहभागिता सुनिश्चित गर्ने लगायतका प्रतिबद्धता समेटिएको छ ।

यसअघि बिहीबार राति सवगढामा विवाहको जन्ती मस्जिद अगाडि बाजा बजाउँदै जाँदा फरक समुदायबाट अवरोध भएपछि विवाद चर्किएको थियो । बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सवगढातर्फ आउँदै गरेको सत्यनारायण साहकी छोरीको विवाहको जन्ती र स्थानीय मुस्लिम पक्षबिच भनाभन हुँदा ढुंगामुढासहित झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पहिलो झडपमा दुवै पक्षका गरी ६ जना घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको र सबैको अवस्था सामान्य रहेको र उपचार पछी घर फर्किएको प्रहरीले जानकारी दिएको छ ।