राजनीति

एमालेको सपना मुलुक बनाउने हो: अध्यक्ष ढुंगेल



काठमाडौँ, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेलले नेकपा एमालेको सपना मुलुक बनाउने रहेको बताउनुभएको छ।

ढुंगेलले नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क कमिटीले शनिबार कोटेश्वरमा आयोजना गरेको उपत्यका केन्द्रित वृहत् चुनावी सभालाई सम्बोधन गर्दै एमालेको मुख्य उद्देश्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको स्पष्ट पार्नुभयो। उहाँले मुलुक बनाउने पार्टीलाई कमजोर बनाएर देश नबन्ने धारणा राख्नुभयो। अहिलेको निर्वाचन मुलुक बनाउने र जलाउनेबीचको लडाइँ भएको उल्लेख गर्दै उहाँले देश बनाउने शक्तिलाई जिताउन एमालेको सूर्य चिन्हमा मतदान गर्न आह्वान गर्नुभयो।

ढुंगेलले एमालेबाहेक अन्य पार्टीले विकासको ठोस काम गर्न नसकेको दाबी गर्नुभयो। रामेछापमा एमालेबाहेक अरू कसैले विकासको काम गरेको प्रमाणित गर्न सके आफूहरूले पार्टीकाे झण्डा फालिदिने चुनौतीसमेत दिनुभयो। एमालेले गरेको विकासमा टेकेर पुरानाले केही गरेनन् भन्नेहरूलाई जनताले सबक सिकाउनुपर्ने उहाँको धारणा थियो।

उहाँले एमालेको झण्डा जलाउने, सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन तथा सार्वजनिक सम्पत्ति र व्यक्तिका घरमा आगजनी गर्नेहरू नै आफूलाई ‘नयाँ’ भन्दै हिँडेको बताउनुभयाे । यस्तो खालको नयाँ शक्ति नेपाली जनतालाई नचाहिएको उहाँले बताउनुभयो। ‘पुलिसका ड्रेस खोस्ने र भाटभटेनीका रक्सी चोर्नेलाई नयाँ भन्ने हो भने देशको विकास र समृद्धिका लागि काम गर्नेलाई के भन्ने ?’ उहाँले प्रश्न गर्नुभयो।

एमाले सत्तामा आए देश बनाउँछ भन्ने डरले केही शक्तिहरूले देश जलाएका बताउँदै उहाँले विगतका घटनाहरू स्मरण गर्नुभयो। ‘सिंहदरबार जलाएको बिर्सिएका छैनौँ, सर्वोच्च अदालत जलाएको बिर्सिएका छैनौँ, संसद भवन जलाएको बिर्सिएका छैनौँ, पुलिसको ड्रेस र बन्दुक खोसेको बिर्सिएका छैनौँ, तिमीहरूले जानेकै जलाउन हो, बनाउन होइन,’ उहाँले भन्नुभयो।