Banner News

चुनाव नजित्ने देखेपछि रास्वपा चुनाव भाँड्ने स्थितिमा पुग्यो: अध्यक्ष ओली



झापा, ९ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रास्वपाले चुनाव नजित्ने निष्कर्ष निकालेको र सोही अनुसार विभिन्न अराजक गतिविधि गर्न थालेको आरोप लगाएका छन् । रास्वपा चुनाव भाँड्ने स्थितिमा पुगेको अनुमान यतिकै गर्न सकिने ओलीको दाबी छ ।

शनिबार झापाको भद्रपर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले रास्वपाका पछिल्ला व्यवहारहरू अभद्र, अमर्यादित, अशोभनिय खालका व्यवहार देखाउने, तनाव बढाउन खोज्ने जस्ता देखिएको बताए । उनले चुनाव बलजफ्ती हुने विषष नभएको पनि बताए । मतदाताले निर्भय रुपमा चुनावमा भाग लिने वातावरण तयार हुनुपर्ने ओलीको भनाइ छ । गणना र मतपरिणाम घोषणासम्म सम्पूर्ण प्रक्रिया मतदान अघि देखिका प्रक्रिया पारदर्शी हुनुपर्ने पनि उनले भनेका छन् । जुन विषय आफ्नो पार्टीले सधैं उठाउँदै आएको ओलीको भनाइ छ ।

ओलीले भने, ‘रास्वपाले कतै झण्डा जलाउने, अत्यन्तै अभद्र, अमर्यादित, अशोभनिय खालका व्यवहार देखाउने, तनाव बढाउन खोज्ने, त्यस प्रकारको कुराहरू देखिन थालेको छ । त्यसर्थ उनीहरू चुनाव भाँड्ने स्थितिमा पुगेको यसै अनुमान गर्न सकिन्छ । यसको अर्थ हो, उनीहरू आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव लड्ने, पक्षमा नतिजा आउँदैन भने चुनाव लड्न नदिने, खालको प्रवृत्तिमा देखिन्छ । मैले केही दिनयताका घटनाक्रम देख्दा रास्वपाले चुनाव भाँड्न खोजेको, जस्तो देखिन्छ ।’