Banner News

निर्वाचनमा मत सर्वेक्षण गर्ने मिडियालाई कारबाही हुन्छ : प्रमुख आयुक्त भण्डारी



काठमाडौँ, १० फागुन । निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त  रामप्रसाद भण्डारीले निर्वाचन सम्बन्धी माहोल बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

गोरखापत्र एकेडेमीको आयोजनामा आयोजित निर्वाचन समाचार अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम अगाडि बढाई रहेको बेला त्यसको माहोल बनाउने काम सञ्चारमाध्यमले गरेको बताए ।

उनले संविधान संरक्षणका निम्ति निर्वाचन अपरिहार्य रहेको बताए । कुनै कुण्ठित व्यक्तिले कुण्ठा व्यक्त गर्दैमा निर्वाचन नबिथोलिने बताए ।  उनले भने, ‘निर्वाचनको विकल्प निर्वाचन नै हो । यसलाई बिथोल्ने काम कसैबाट नहोस् ।’ धमिलो पानीमा माछा मार्ने काम कसैबाट नहोस् भन्दै उनले दलहरू गाउँ गाउँ गइसकेको अवस्थामा चुनावारे भ्रम छर्न नहुने उल्लेख गरे । 

यसपालि निर्वाचनमा देखिएको उत्साह यसअघि कहिले पनि नदेखिए बताउँदै उनले  बताए । कुनै पनि पक्षबाट निर्वाचन विरुद्ध नजायोस् भनेर आचारसंहिता ल्याएको बताउँदै प्रमुख आयुक्त भण्डारीले कतिपय ठाउँमा मिडियाबाट आचारसंहिता उल्लङ्घन गरेको बताए ।

मत सर्वेक्षण नगर्नुस् भनी पटक पटक सम्झाइ बुझाइ गरे पनि अटेरी भइरहेको भन्दै उनले यो सिलसिला जारी रहे संविधानमा व्यवस्था भए अनुसार कारबाही हुने चेतावनी दिए ।