सप्तरी, १२ फागुन । नेकपा (एमाले)को झण्डा र ब्यानर जलाउँदै अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार यो घटना गत फागुन ६ गते राति करिब ९ बजे भगवतपुरमा भएको थियो ।
महादेवा गाउँपालिका वडा नम्बर ५ भगवतपुरमा एमालेको सूर्य अंकित झण्डा र फोटोसहितको ब्यानर जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । उक्त भिडियोमा पछाडिबाट उत्तेजित हुँदै पार्टीलाई विभिन्न आरोप लगाउने र अश्लील भाषामा गाली गर्ने व्यक्तिको पहिचान गरी प्रहरीले ३१ वर्षीय हरि नारायण मण्डललाई पक्राउ गरेको हो ।
प्रहरीले उनलाई फागुन ८ गते बेलुका महादेवा गाउँपालिका वडा नम्बर ३ बाट नियन्त्रणमा लिएको हो । पक्राउ परेपछि सोधपुछका क्रममा मण्डलले भिडियोमा बोलिएको स्वर आफ्नै भएको र आफूले नै गालीगलौज गरेको स्वीकार गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्