Banner News

मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौं : कार्यवाहक प्रमुख आयुक्त भण्डारी



काठमाडौँ, १२ फागुन । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले यसपटक परिणाम आउन समय नलाग्ने बताए । मतपरिणामको समयसीमाबारे स्पष्ट पार्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले समानुपातिकको एक–दुई दिन लागे पनि प्रत्यक्षतर्फको परिणाम मतपेटिका संकलन भएको २४ घण्टा भित्र घोषणा गर्ने गरी आयोगले तयारी गरेको बताए ।

उनले उपत्यका बाहिर मतपत्र पठाउने काम सकिएको तथा काठमाडौँ, ललितपुर र भक्तपुरका केही स्थानमा मंगलवार सांझ सम्म पुर्याइसक्ने गरी काम भएको जानकारी दिए । मतदान अधिकृतहरुको तालिम मंगलवार साँझसम्म सम्पन्न हुने र त्यसपछि आवश्यक सामान बुझेर सम्बन्धित मतदान केन्द्रहरुमा खटिने पनि उनले बताए । निर्वाचन तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न गरी आयोग पूर्ण रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिए ।

प्रतिनिधि सभाको निर्वाचनका लागि आगामी २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने कार्यतालिका रहेको छ ।