राजनीति

निर्वाचनमा उत्साहपूर्ण सहभागिता जनाउन आयोगको आग्रह



काठमाडौँ, १९ फागुन । प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय मानवअधिकार आयोगले देशभर अनुगमन टोली खटाएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह गर्दै आयोगले सम्पूर्ण मतदातालाई उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अपिल समेत गरेको छ ।

आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा काठमाडौँ उपत्यका तथा अन्य केही जिल्लाहरूमा निर्वाचन अनुगमनका लागि आयोगका अध्यक्ष, सदस्य तथा पूर्व पदाधिकारीहरू सम्मिलित उच्चस्तरीय टोली परिचालन गरिएको छ ।

यसअघि पनि आयोगले विभिन्न जिल्लाहरूमा निर्वाचनपूर्वको अवस्था अनुगमन गरी प्राप्त तथ्यका आधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल तथा सरोकारवालाहरूलाई ध्यानाकर्षण गराइसकेको जनाएको छ ।

निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर मानव अधिकारको महत्त्वपूर्ण सवाल पनि भएको उल्लेख गर्दै आयोगले सम्पूर्ण मतदातालाई आफ्नो मताधिकारको निर्धक्क प्रयोग गर्न अनुरोध गरेको छ । मौन अवधि सुरु भइसकेको सन्दर्भमा निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्दै धैर्यता र संयमताका साथ मतदान प्रक्रियालाई सघाउन आयोगले सम्पूर्ण राजनीतिक दलहरूलाई विशेष आग्रह गरेको छ ।

मतदानको दिन स्वास्थ्य सेवा, एम्बुलेन्स, शववाहन, सञ्चार, पानी, दूध, इन्धन आपूर्ति जस्ता अत्यावश्यक सेवाहरूमा कुनै पनि अवरोध आउन नदिन आयोगले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।