काठमाडौँ, २५ फागुन । राष्ट्रियसभा सदस्यमा निर्वाचित १७ जना सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज सिंहदरबारस्थित कानुन समितिको हलमा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले उनीहरूलाई शपथग्रहण गराएका हुन् ।
शपथग्रहणका लागि रामकुमारी झाँक्री भने ढिलो गरी पुगेकी थिइन् । जसका कारण अन्य सांसदहरूले शपथ लिइसकेपछि उनले पछि शपथ लिएकी छन् । त्यस्तै, मीना रखाल भने शपथग्रहणमा अनुपस्थित भएकी छन् । उनी एमाले कर्णालीकी सांसद हुन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ । जसअनुसार यही २० फागुनमा १९ जना सांसदको कार्यकाल सकिएको थियो । रिक्त एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान रहेकाले १८ सांसद चुन्न माघ ११ गते निर्वाचन भएको थियो ।
निर्वाचनमा कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल, मधेस प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रञ्जित कर्ण र रेखा झा निर्वाचित भएका थिए ।
बागमती प्रदेशबाट गीता देवकोटा र डा.प्रेम दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही र मिना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका थिए ।









प्रतिक्रिया दिनुहोस्