काठमाडौँ, २९ फागुन । निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाउन अनुरोध गरेको छ ।
आयोगले बिहीबार विज्ञप्ति जारी गरी निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले आफ्नो जिल्लामा रहेको प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण तथा सो विवरण सार्वजनिक गरेको जानकारी गराउन अनुरोध गरेको हो ।
आफ्नो जिल्लामा रहेको प्रदेश/जिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाउँपालिका वा नगरपालिका वा वडा कार्यालयको सूचना पाटी, राजनीतिक दलको जुनसुकै तहको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम वा सामाजिक सञ्जालमा आफ्नो निर्वाचन विवरण सार्वजनिक गर्न आयोगको अनुरोध छ ।
निर्वाचन खर्चको विवरण नबुझाउने तथा सार्वजनिक नगर्ने एवं निर्वाचन खर्चको विवरण सार्वजनिक गरी त्यसरी सार्वजनिक गरेको विवरणको प्रमाणसहित लिखित जानकारी आयोग तथा सम्बन्धित निर्वाचन कार्यालयमा नदिने राजनीतिक दल तथा उम्मेदवारको हकमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम कारबाही हुने आयोगले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्