राजनीति

चौरहजारी नगरपालिकाका प्रमुखसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ, ३ चैत । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्पवादीसहित २ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

आयोगले नगरप्रमुख वादीसहित उनलाई घुस दिने कर्मचारी मोहन शाहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । शाह नगरपालिकामा असिस्टेन्ट सबइन्जिनियरको रूपमा करार सेवामा काम गर्दै आएका थिए ।

आयोगका अनुसार शाहले आर्थिक वर्ष १०८१/८२ मा आफ्नो करार अवधि थप गर्नका लागि नगरप्रमुख वादीलाई १ लाख रुपैयाँ घुस दिएका थिए । २०८२/८३ का लागि करार अवधि थप गर्न पनि नगरप्रमुख वादीले घुस मागेका थिए । घुस नदिएपछि वादीले उनको करार अवधि नथपेको उजुरी शाहले दिएका थिए । सोही उजुरीको आधारमा आयोगले वादीमाथि अनुसन्धान गरेको थियो ।