काठमाडौँ, १० चैत । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा बन्ने सरकारलाई आफ्नो कार्यकालमा थालनी गरिएका सफल नीति तथा कार्यक्रमहरूलाई निरन्तरता दिन सुझाव दिएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नयाँ सरकारले शून्यबाट काम थाल्नुको सट्टा विगतका राम्रा अभ्यासलाई सन्दर्भ सामग्रीका रूपमा उपयोग गर्न सक्ने बताए । डा. भट्टराईले नयाँ बन्ने सरकारले आफ्ना कामको प्राथमिकता निर्धारण गरिरहेको अवस्थामा विगतका सफल अभ्यासहरू उपयोगी हुन सक्ने उनको तर्क छ ।
उनले भनेका छन्, ‘नेपाली राजनीतिको ऐतिहासिक पुस्तान्तरण सहित नवोदित रास्वपाको सुविधाजनक एकमना सरकारले देशको नेतृत्व सम्हाल्न लाग्दा आम जनता र विशेषतः युवापुस्ताका आकांक्षा चुलिनु स्वाभाविक छ। यस सन्दर्भमा नयाँ बन्ने सरकारले समयवद्ध तरिकाले कार्यान्वयनकालागि आफ्ना कामका प्राथमिकता निर्धारण अवश्य गरिरहेकै छ।
त्यसनिम्ति विगतका सरकारहरूले शुरू गरेका कतिपय राम्रा अभ्यासहरू उपयोगी सन्दर्भ-सामाग्री हुनसक्छन्। तीमध्ये मेरो नेतृत्वको विशिष्ठ कालखण्डको छोटो अवधि (अठार महिना)-को सरकारका ” प्रमुख काम र उपलब्धी” ( विस्तृत विवरण सहित प्रकाशित ग्रन्थ प्रम कार्यालयमा सुरक्षित हुनसक्छ!) पनि केही काम लाग्नसक्छ।
विशेषतः सुशासन, भ्रष्टाचार निवारण र पारदर्शिताको क्षेत्रमा शुरू गरिएका हेलो सरकार, जनतासंग प्रधानमन्त्री, संवैधानिक निकायमा नियुक्ति प्रक्रियामा सुधार, संस्थान निर्देशन बोर्ड गठन आदि उपयोगी हुन सक्छन्।
त्यसरी नै तीव्र आर्थिक रूपान्तरण र समृद्धिकानिम्ति पहल गरिएका लगानी बोर्ड, बिप्पा सम्झौता, राष्ट्रिय गौरवका आयोजना,रूग्ण उद्योगहरूको पुनरूत्थान, विशेष अर्थिक क्षेत्र (SEZ), काठमाण्डौ उपत्यका विकास प्राधिकरण, वैज्ञानिक भूमिसुधारनिम्ति तयारी, भूउपयोग नीति निर्माण र कार्यान्वयन,गरीवीको पहिचान र परिचयपत्र,राष्ट्रिय स्वयंसेवा अभियान आदिलाई परिमार्जन र प्रथमिकतासहित अघि बढाउन सकिन्छ।








प्रतिक्रिया दिनुहोस्