राजनीति

पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौँ, १० चैत । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना विरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट,इन्जिनियर सन्देश भण्डारी, सव–इन्जिनियर किरण भण्डारी, लेखापाल रामचन्द्र धामी र निर्माण व्यवसायी भुमिराज कन्सट्रक्शनका प्रोपाइटर मान बहादुर बोहरा विरुद्ध  ८ लाख ४८ हजार ९६२ रुपैयाँ मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गाउँपालिकाकाे वडा नम्बर ९ स्थित बागथला धारी डोबा सडक निर्माण कार्यमा सडकमा ग्याबिन कार्य र मेसिनरी कार्यको काम नभई भुक्तानी दिएको भन्ने उजुरीमाथि अख्तियारले अनुसन्धान सुरु गरेकाे थियाे । 

अख्तियारका अनुसार आपसी मिलेमतो र संलग्नतामा बागथला धारी डोबा रोड (रोड २) मेशनरी वर्क ( ठेक्का नं. BCRM / CW-12-2077-078) निर्माण कार्य योजना अन्तर्गत बागथला धारी डोबा रोडमा सिंचाई क्यानल तथा मेशनरी वर्क ह्युम पाइप कलभर्ट समेतको संरचना निर्माणसम्बन्धी कार्यमा योजनाको कार्य सम्झौताबमोजिम सम्पन्न नहुँदै निर्माण कार्य सम्पन्न भएको भनी झुट्टा बिल भरपाई बनाइएकाे थियाे  । गलत प्रतिवेदन तयार गरी उक्त रकम बराबरको निर्माण व्यवसायीलाई बढी भुक्तानी दिइएकाे भन्दै मुद्दा दायर गरिएको हाे ।