काठमाडौँ, १३ चैत । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा र मधेसी मूलका पहिलो प्रधानमन्त्री बन्न लागेका युवा इन्जिनियर बालेन्द्र शाह (बालेन) लाई सफल कार्यकालको शुभकामना दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले बालेनको काँधमा ऐतिहासिक कार्यभार आएको बताउँदै उनको नेतृत्वमा देशले नयाँ दिशा लिने विश्वास व्यक्त गरेका हुन् ।
लामो समयदेखि आन्तरिक रूपमा देशको अर्थ–राजनीति संरचनात्मक गत्यावरोधमा फसेको उल्लेख गर्दै भट्टराईले यसलाई चिरेर अघि बढ्न बालेनलाई सुझाव दिएका छन्। आन्तरिक अर्थतन्त्रको सुधार मात्र नभई बाह्य रूपमा तीव्र गतिमा बदलिँदै गएको भू–राजनीतिक अवस्थाका चुनौती र सम्भावनालाई कुशलतापूर्वक व्यवस्थापन गर्नुपर्ने दायित्व नयाँ प्रधानमन्त्रीको काँधमा रहेको उनले बताए।
उनले लेखेका छन्, “ऐतिहासिक कार्यभार बहन गर्न लाग्नुभएका नेपाली इतिहासकै कान्छा र मधेसी मूलका पहिलो प्रधानमन्त्री युवा इन्जिनीयर श्री बालेन्द्र शाहलाई सफल कार्यकालको हार्दिक शुभकामना! आन्तरिक रूपमा लामो समयदेखि संरचनात्मक गत्यावरोधमा फसेको अर्थ-राजनीति र बाह्य रूपमा तीव्र गतिले बद्लिदै गएको भू-राजनीतिका चुनौती र सम्भावनाहरूलाई कुशलतापूर्वक व्यवस्स्थापन गर्दै देश र जनताका एक्काइशौं शताब्दीका आकांक्षा पूरा गर्न सफलता मिलोस्! लामो र कष्टसाध्य लोकतान्त्रीकरणको प्रक्रियापछि सुशासन र समावेसी समृद्धीकरणको नयाँ चरणमा प्रवेश गरेको नेपाली राजनीतिको अब समयानुकूल डिजिटल प्रविधि/एआइमैत्री युवापुस्तामा पुस्तान्तरण हुँदै गएको वस्तुगत यथार्थलाई सबैले आत्मसात गरौं! कसैको देवत्वकरण वा दानवीकरण नगरी गुणदोषको आधारमा सहकार्य र प्रतिस्पर्धा गर्ने नयाँ लोकतान्त्रिक संस्कृतिको विकास गरौं!”










प्रतिक्रिया दिनुहोस्