राजनीति

एक करोड श्रमदाता जुटाएर देश बदल्ने अध्यक्ष साम्पाङको उद्घोष



काठमाडौँ, १३ चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशभरबाट कम्तीमा एक करोड श्रमदातालाई आफ्नो संगठनमा जोड्ने योजना रहेको उद्घोष गरेका छन् ।

 काठमाडौँमा आयोजित पार्टी सदस्यता वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकको सक्रिय सहभागिता र पसिना बिना मुलुकको विकास सम्भव नहुने उल्लेख गरे । उनले विकासका लागि श्रमदानलाई अनिवार्य सर्तका रूपमा अघि सारेका छन् । ठुलो संख्यामा नागरिकको श्रम परिचालन गर्न सके मात्र विकासले गति लिने विश्वास व्यक्त गर्दै उनले एक करोड मानिसका दुई करोड हात एकैसाथ चल्दा मुलुकमा ठूलो परिवर्तन आउने दाबी गरे ।

देश निर्माणका लागि खोक्रा भाषणभन्दा व्यावहारिक काम र श्रम संस्कृतिको आवश्यकता रहेको उल्लेख गर्दै उनले राजनीतिक नेतृत्व अब नारामा मात्र सीमित नभई परिणाममुखी काममा केन्द्रित हुनुपर्नेमा जोड दिए । 

श्रमदानले केवल भौतिक निर्माण मात्र नभई व्यक्तिको शरीर बलियो बनाउने, समाजलाई भावनात्मक रूपमा जोड्ने र समग्र मुलुकलाई समृद्धिको दिशामा लैजाने उनको तर्क छ । श्रम र पसिनाको सम्मान गर्ने संस्कृतिले मात्रै नेपाललाई आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ ।