काठमाडौँ, १४ चैत । बलात्कार आरोपमा एमाले नेता तथा पूर्वसांसद कर्णबहादुर मल्ल पक्राउ परेका छन् ।
मल्ललाई शनिबार ललितपुर प्रहरीको टोलीले सातदोबाटोबाट पक्राउ गरेको हो । मल्लविरुद्ध एक महिलाले जाहेरी दिएकी थिइन् । मल्ललाई कारबाहीको माग गर्दै उनी माइतीघरमा आमरण अनसनरत छिन् । ललितपुर प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले एक महिलाले दिएको किटानी जाहेरीका आधारमा मल्ललाई पक्राउ गरिएको बताए । मल्ल २०६४ को संविधानसभामा एमालेबाट सभासद बनेका थिए ।
बोगटीका अनुसार मल्लविरुद्ध ५ फागुनमा जाहेरी परेकामा भोलिपल्ट अदालतबाट प्रहरीले पक्राउ पुर्जी लिएको थियो । त्यसपछि उनी फरार रहेर मुगु र कालिकोट पुगेको प्रहरीको भनाइ छ । ‘अहिले काठमाडौं आएको सूचनापछि खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो,’ बोगटीले भने । ५२ वर्षीय मल्ल मुगु सोरु गाउँपालिका-१० धैनकोटका हुन् ।










प्रतिक्रिया दिनुहोस्