राजनीति

म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्नँ : अर्थमन्त्री वाग्ले



काठमाडौँ, १६ चैत । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका निम्ति प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले अब निजी क्षेत्रले घुस खुवाउन, सरकारी निकायमा लाइन लाग्न र सामान्य आर्थिक गतिविधिका कारण थुनिनु नपर्ने स्पष्ट पारेका हुन् ।

आज नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सरकारको सहयात्रीका रूपमा अघि बढाउने नीति लिइएको बताए । उनले भने, “अब निजी क्षेत्रले दुःख पाउने अवस्था अन्त्य हुन्छ, हामी तपाईंहरूको सहयात्री हौँ,” ।

लगानी विस्तार र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे । लगानी बढाएर रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्ने उनले बताए । अर्थमन्त्री वाग्लेले आफू भ्रष्टाचार नियन्त्रणमा दृढ रहेको जनाउँदै भने, “म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्नँ ।”