राजनीति

भारतद्वारा नेपालमा बिजुली आयात अनुमति नवीकरण: नेपालले जेठदेखि भारत र बंगलादेश निर्यात गर्ने



काठमाडौँ, १७ चैत । भारतले अप्रिलदेखि अगस्टसम्मका लागि बिजुली आयात गर्न पाउने गरी अनुमति नवीकरण गरिदिएको छ ।

भारतले १८ चैतदेखि २ वैशाखसम्म २४ घण्टा, ३ वैशाखदेखि १६ असारसम्म १६ घण्टा र १७ असारदेखि १५ भदौसम्म २४ घण्टा बिजुली दिने बिजुली दिने गरी नवीकरण गरिदिएको हो । यद्यपि जेठ अन्तिम सातादेखि नेपालले भारत र बंगलादेशमा निर्यात थाल्छ । 

२०८१ चैतमा भारतले पटकपटक गरी १२ र १६ घण्टा बिजुली आयात गर्न अनुमति नवीकरण गरिदिँदै आएकामा मंगलबारसम्मका लागि २४ घण्टा नै बिजुली दिँदै आएको थियो । बुधबारदेखि भने नेपाल विद्युत् प्राधिकरणले दिनको १६ घण्टा मात्र बिजुली आयात गर्न पाउनेछ । भारतले ६ सय ५४ मेगावाट बिजुली भारतीय इनर्जी एक्सचेन्ज (आईएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई आगामी अगस्टसम्मका लागि अनुमति नवीकरण गरेको हो ।

बुधबारदेखि आईएक्समार्फत बिजुली खरिद गर्न भारतले फेरि अनुमति नवीकरण गरिदिनुपर्ने थियो । भारतले दिनको १६ घण्टा बिजुली आयात गर्न मिल्ने गरी अनुमति नवीकरण गरिदिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जनाए । 

हिउँदमा खोला तथा नदीमा पानीको बहाव घटेर बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न नेपालले बर्सेनि भारतबाट विद्युत् आयात गर्दै आएको छ । प्राधिकरणले चौबीसै घण्टा (आरटीसी) ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ६ सय मेगावाट र टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६ सय ५४ मेगावाट बिजुली प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको छ । 

भारतले अप्रिल र मेमा १६ घण्टा र त्यसपछिका महिनामा भने २४ घण्टा (आरटीसी) मोडमा नै बिजुली आयात गर्न मिल्ने गरी अनुमति नवीकरण गरिदिएको हो । अप्रिलमा बिहान २ देखि साँझ ६ बजेसम्म र मेमा बिहान ४ देखि बेलुका ८ बजेसम्म बिजुली आयात गर्न पाइने प्राधिकरणको भनाइ छ ।