काठमाडौँ, १७ चैत । कांग्रेसले समानान्तर गतिविधि थालेका देउवा पक्षका नेतालाई अनुशासनको कारबाही गर्ने तयारी थालेको छ ।
सभापति गगन थापाले सोमबार राखेको पदाधिकारी बैठकले समानान्तर गतिविधिको नेतृत्व लिएका नेतामाथि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले ‘केन्द्रीय कार्यसमिति’ को बैठक भन्दै मंगलबार र बुधबारका लागि देउवापक्षीय नेताहरूलाई बोलाएका छन् । १४ औं महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको कार्यसमितिमा रहेका नेताहरूलाई बैठकमा बोलाइएको हो । त्यसपछि जिल्ला सभापतिहरूको भेला बोलाउने खड्काको तयारी छ । एक नेताका अनुसार १९ चैतमा जिल्ला सभापतिहरूको भेला हुने सम्भावना छ ।
महामन्त्री प्रदीप पौडेलले देउवा पक्षको मंगलबार र बुधबारको बैठकको प्रतिक्रियाले कसरी अघि बढ्ने भन्नेबारे तय हुने बताए । कांग्रेसले तारामान गुरुङको नेतृत्वमा रहेको केन्द्रीय अनुशासन समितिको बैठक बुधबारका लागि बोलाएको छ । पार्टीका एक पदाधिकारीका अनुसार समानान्तर गतिविधि चलाउने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय उक्त बैठकमा हुन सक्छ ।










प्रतिक्रिया दिनुहोस्