विश्व

इरानबाट अमेरिकी सेना चाँडै फिर्ता हुने ट्रम्पको घोषणा



एजेन्सी, १८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सैन्य अभियान चाँडै समाप्त हुने र आगामी दुईदेखि तीन हप्ताभित्रै अमेरिकी सेना त्यहाँबाट बाहिरिने घोषणा गरेका छन् ।

ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानमाथि गरिएका हवाई आक्रमण र सैन्य कारबाहीको उद्देश्य पूरा भएको दाबी गरेका हुन्।

गत महिना इजरायलसँगको समन्वयमा सुरु भएको उक्त कारबाहीको मुख्य लक्ष्य इरानको आणविक हतियार प्राप्त गर्ने क्षमतालाई ध्वस्त पार्नु रहेको र त्यो लक्ष्य हासिल भइसकेको उनले बताए। ट्रम्पका अनुसार अहिले अमेरिकी सेनाले ‘अन्तिम काम’ बाँकी रहेको भन्दै त्यसलाई पूरा गरिरहेको छ।

उनले इरानको आकाशमा अहिले पूर्ण रूपमा अमेरिकाको कब्जा रहेको र इरानी सैन्य शक्ति तथा पूर्वाधारहरू पूर्ण रूपमा नष्ट भइसकेको उल्लेख गरे। इरानका वरिष्ठ राजनीतिक र सैन्य नेताहरूको मृत्युपछि त्यहाँ सत्ता परिवर्तन भएको र नयाँ नेतृत्व अघिल्लो शासनको तुलनामा कम कट्टरपन्थी र बढी तर्कसंगत रहेको ट्रम्पको बुझाइ छ। उनले इरानको नौसेना र समग्र सैन्य संरचना ध्वस्त भएकाले अहिले इरानी पक्षबाट कुनै पनि प्रतिरोध नभएको दाबी गरे।

इरानले वार्ताका लागि आग्रह गरिरहेको दाबी गर्दै ट्रम्पले कुनै औपचारिक सम्झौता भए पनि वा नभए पनि अमेरिकाले तोकिएको समयमै इरान छाड्ने स्पष्ट पारे। उनले इरानले फेरि कहिल्यै आणविक हतियार बनाउन नसक्ने कुरामा आफूहरू ढुक्क भएपछि मात्रै पूर्ण रूपमा बाहिरिने बताए।

इरानले अमेरिकी प्रविधि कम्पनीहरूलाई धम्की दिएको विषयमा टिप्पणी गर्दै उनले व्यङ्ग्यात्मक रूपमा इरानसँग अब सानो खेलौना बन्दुकबाहेक केही बाँकी नरहेको भन्दै धम्कीको कुनै अर्थ नभएको टिप्पणी गरे।