राजनीति

पार्टीको विधि र मूल्य–मान्यताभित्र रहेर अघि बढ्न चन्द्र भण्डारीको आह्वान 



काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले सबै नेता–कार्यकर्तालाई पार्टीको विधि र मूल्य–मान्यताभित्र रहेर जिम्मेवार ढङ्गले अघि बढ्न आह्वान गरेका छन् ।

आज सामाजिक सञ्जाल मार्फत उनले संयमित र जिम्मेवार राजनीति गर्न पनि उनले पुराना नेताहरूलाई आग्रह गरेका छन् । कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला समूहले गरेको गतिविधि प्रति लक्षित गर्दै उनले पाका नेताहरूबाट त्यस्तो गतिविधि नसुहाउने टिप्पणी गरेका छन्।

‘झगडा राजनीति हो ? झगडा नेपालीको पहिचान हो त ? हारमा झगडा, जितमा झगडा न धैर्यता, न विधि, पाका नेताहरू पाका बन्नु पर्दैन र ?’ भन्दै उनले प्रश्न उठाएका छन्।

नेता भण्डारीले खड्का–कोइराला समूहको गतिविधिलाई घुमाउरो तरिकाले गतिछाडा गतिविधिको संज्ञा दिएका छन् । उनले गलत सन्देश दिने गतिविधि पाका नेताहरूबाट हुनु दुर्भाग्यपूर्ण रहेको आशय व्यक्त गरेका छन्। 

नेता भण्डारीका अनुसार लोकतान्त्रिक अभ्यासभित्र विचार फरक हुनसक्छ, तर त्यसलाई झगडा र विभाजनतर्फ लैजानु गलत हो ।