काठमाडौँ, २२ चैत । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसानलाई पुनः सूचीकरण गर्न सुरु गरेको छ ।
किसानलाई परिचयपत्रसहित विभिन्न सेवा सुविधा अनुदान उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको अनलाइन प्रणालीमा प्रविधिक समस्या आएपछि गत कात्तिक २५ गतेदेखि सञ्चालन हुनसकेको थिएन । सूचीकृत किसानलाई रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापन, सुविधा उपलब्ध गराउने योजना रहेको जनाइएको छ ।
उक्त कार्यक्रम प्रभावकारी देखिएकाले १७ लाख ३७ हजार किसानलाई सूचीबद्ध गर्नका लागि पुनः सूचीकरण गर्न सुरु गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । बाँकी किसानलाई छिट्टै गणनामा समावेश गरी प्रणालीमा जोड्ने तयारी भइरहेको जनाइएको छ । कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजार किसान रहेकामा हालसम्म २३ लाख ९३ हजार किसान सूचीमा समावेश गरिसकेको मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्