विश्व

इरानमा ‘सबैभन्दा लामो’ इन्टरनेट सेवा अवरोध



एजेन्सी, २३ चैत । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमा आक्रमण गरे लगत्तै लागू गरिएको इरानको इन्टरनेट अवरुद्धता अहिलेसम्म रेकर्ड गरिएको ‘सबैभन्दा लामो’ राष्ट्रव्यापी अवरुद्धता भएको इन्टरनेट अनुगमन तथा विश्लेषण गर्ने संस्था नेटब्लक्सले आइतबार जनाएको छ ।

नेटब्लक्सले ट्वीटमा भनेको छ, “इरानको इन्टरनेट अवरोध कुनै पनि देशमा अहिलेसम्मकै सबैभन्दा लामो राष्ट्रस्तरीय इन्टरनेट अवरोध हो । यो लगातार ८६४ घण्टा अर्थात् ३७ औँ दिनसम्म पनि खुलेको छैन ।”

अर्को ट्वीटमा नेटब्लक्सले उल्लेख गरेको छ, “केही देशहरूले लामो समयसम्म बिच–बिचमा वा क्षेत्रीय–स्तरमा इन्टरनेटको अवरोधको अनुभव गरेका थिए भने उत्तर कोरियामा अहिले पनि विश्वव्यापी इन्टरनेट सञ्जालमा जडान गरिएको छैन । ”

“हामी केवल भरपर्दो समाचार सुन्न सक्षम हुन निरन्तर सम्पर्कको उपायको खोजीमा छौँ,” मध्य शहर इस्फाहानकी एक ४७ वर्षीया महिलाले शनिबार एएफपीसँग इन्टरनेट अवरोधबारे चिन्ता व्यक्त गरिन् ।

“इन्टरनेट बिना हुनु मलाई अक्सिजन बिना हुनु जस्तो लाग्छ। म फसेको र निसास्सिएको महसुस गरिरहेको छु,” तेहरानका एक ५३ वर्षीय स्थानीयले बताए ।

इरानको अत्यन्त प्रतिबन्धित स्थानीय इन्टरनेटले युद्धभरि काम गरिरहेको छ, जसले मानिसहरूलाई घरेलु वेबसाइटहरूमा जोडिन सम्भव बनाएको छ ।