काठमाडौँ, २९ चैत । काठमाडौँ महानगरपालिकाले इन्धनको बढ्दो संकट र खर्च कटौतीलाई ध्यानमा राख्दै आफ्ना अधिकारीहरूका लागि ‘कार पुलिङ’ (सवारी साधन बाँडेर चढ्ने) प्रणाली कार्यान्वयनमा ल्याएको छ ।
कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन अभावबाट सिर्जना हुनसक्ने दीर्घकालीन नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको जानकारी दिएकी हुन् ,
विश्वव्यापी रूपमा देखिएको इन्धन अभावको असरलाई मध्यनजर गर्दै महानगरले आफ्ना अधिकारीहरूलाई उपलब्ध गराइएका सवारी साधनहरू अबदेखि आलोपालो प्रणालीमा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।
उनले भनिन्, ‘विश्वभर इन्धनको अभाव छ । यसबेला पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ । यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन । त्यसैले हामीले ‘कार पुलिङ’ कार्यक्रम सुरु गरेका हौँ ।’
महानगरपालिकाले यसअघि नै ४८ औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गर्ने निर्णय गरिसकेको छ । सोही निर्णयलाई थप प्रभावकारी बनाउन ‘कार पुलिङ’ को अवधारणा ल्याइएको हो ।










प्रतिक्रिया दिनुहोस्