भक्तपुर, ७ बैशाख । चाँगुनारायण नगरपालिका वडा–९ को सहयोगमा गोपाल गौरी दिगो विकास प्रतिष्ठानले आयोजना गरेको दुई महिने “ढाका बुनाई” तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा चाँगुनारायण नपाका महिला तथा बालबालिका शाखा प्रमुख निलाकुमार घिमिरे, वडा–९ का अध्यक्ष गणेश त्यात्तलगायतले तालिममा सहभागीहरु १० जनालाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । सो अवसरमा चाँगुनारायण न.पा.का महिला तथा बालबालिका शाखा प्रमुख निला कुमारी घिमिरे तालिम लिएका वडा–९ का स्थानीय प्रशिक्षार्थीहरुलाई आफूले पाएको तालिमको सदुपयोग गरी आय आर्जनमा लाग्न आग्रह गर्नुभयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानका अध्यक्ष इन्दिरा गौतमले भन्नुभयो, “स्थानीय महिलालाई हामी सिप दिन्छौ, दिदीबहिनीहरुले आर्थिक रुपमा आत्मनिर्भर हुन आफ्नो सिपलाई व्यवसाय, रोजगारीसँग जोड्नुहोस्, आवश्यक सहयोग गर्न प्रतिष्ठान सधैं तयार छ ।”
उहाँले यस तालिममा सहभागीहरुलाई सारी, सानो/ठूलो पछौरा, थानको कपडा बुन्न सिकाईएको जानकारी दिनुभयो । वडा सदस्य कमला गिरीले प्रतिष्ठानले महिलालाई ढाका बुन्ने सिप दिनुभएकोमा धन्यवाद ज्ञापन गर्दै महिला दिदीवहिनीले आफैंले बुनेका कपडा लगाउन पाउँदा गौरव महसुस हुने बताउनुभयो । प्रतिष्ठानका महासचिव गीता न्यौपानेले ६० दिनसम्म मेहनतका साथ सिकेको सिपलाई व्यवहारमा उतारेर आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो । तालिममा सहभागी कोपिला खड्काले दुई महिने तालिममा सिकेको सिपको सदुपयोग गर्ने वातावरण मिलाईदिन आग्रह गर्नुभयो ।
त्यसैगरी रन्जना हेगजुले प्रशिक्षकहरुले झर्को नमानी सिकाएको स्मरण गर्दै ढाका बुन्ने मेसिन पाए अब काम गर्न सक्ने आत्मविश्वास पलाएको अनुभव सुनाउनुभयो । यस तालिममा प्रशिक्षकहरु थममाया पुलामी मगर र बविता देवान राईले १० जना स्थानीय महिलालाई ढाका बुनाई प्रशिक्षण दिनुभयो । सो अवसरमा सहभागीलाई प्रतिष्ठानको तर्फबाट ढाका बुन्ने एउटा मेसिन पनि प्रदान गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्