विश्व

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिका र इरान



एजेन्सी, १५ जेठ । मध्यपूर्व युद्ध शुरु भएको तीन महिनापछि अमेरिका र इरानले एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । 

यसले युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयासलाई प्रभावित पारेको छ । इजरायलले देशको दक्षिणी भागलाई युद्ध क्षेत्र घोषणा गरेपछि र बेरुत नजिकै आक्रमण बढाएपछि लेबनानी क्षेत्रमा तनाव चर्किएको छ । बिना अनुमति हर्मुज जलमार्ग पार गर्न खोज्ने चारवटा जहाजमाथि इरानी सेनाले गोली चलाएको इरानी सरकारी प्रसारक आइआरआइबीले जनाएको छ । 

इरानले युद्ध सुरु भएदेखि नै जलमार्गमा नाकाबन्दी गर्दै आएको छ । आफ्नो समूहले हर्मुज र वरपरका पाँचवटा ड्रोनहरूको आक्रमण र बन्दर अब्बासको दक्षिणी बन्दरगाह क्षेत्रको भू–नियन्त्रित स्टेशनबाट छैटौँ आक्रमणलाई रोकेको अमेरिकी सेनाले बताएको छ । 

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले तेहरानले ‘आफ्नो राष्ट्रिय सम्प्रभुताको रक्षाका लागि सबै आवश्यक उपायहरू अवलम्बन गर्ने’ बताउनुभएको छ ।