Banner News

शासकीय चरित्रमा सुधार नभई गणतन्त्रको सार्थकता रहँदैन : राष्ट्रपति पौडेल



काठमाडौँ, १५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्नका लागि शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त धारणा व्यक्त गरेका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रले नेपाली नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता गर्नुका साथै साझा राष्ट्र निर्माणको संकल्पका लागि अभिप्रेरित गरेको उल्लेख गरे ।

उनले भने, “गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ, यसले हामीलाई समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ, यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने सङ्कल्पका लागि अभिप्रेरित गरेको छ, किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ, त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान् प्रेरणा र अभिभारा हो”, ।  

गणतन्त्रले नागरिकलाई आफ्नो जाति, भाषा, धर्म, संस्कृति र भूमिको स्वामित्व प्रदान गरेको बताउँदै उनले यसलाई राष्ट्र निर्माणको महान् प्रेरणाका रूपमा लिनुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले केवल राजनीतिक परिवर्तनले मात्र नागरिकको अपेक्षा पूरा नहुने तर्क गरे ।

उनले भने, “हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ । हामीले राजनीतिक पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने हुन्छ । गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष र प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्नुहुन्न भन्ने म ठान्दछु । अब हामीले विचार गर्ने यही हो कि हामीले प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्छ । हामीले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्याय सहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्छ ।”