काठमाडौँ, १५ जेठ । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन् ।
आज पार्टी स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरूले तत्काल सफाइका लागि प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले भने, “मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । यो अत्यन्तै महत्त्वको छ । यसले धेरै कुराहरूको उजागर गरेको छ । र, यसलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुनुपर्दछ । यसमा अभियुक्तमा रूपमा देखिएका अथवा मानव अधिकार आयोगले दोषी ठहर्याएका मानिसहरूले पनि प्रक्रिया पुर्याएर छिटोभन्दा छिटो सफाइ लिनु पर्दछ । यो गम्भीर विषय हो । किनभने यो केबल नेपालमा मात्रै सीमित रहने विषय होइन । यो प्रतिवेदन त यूएनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मानव अधिकारसँग सम्बन्धित, अन्य विभिन्न संयुक्त राष्ट्रसंघ सम्बन्धित संघ, संस्थाहरूसँग रेकर्डेड हुनेछ । र, यसैलाई आधार मानेर विगतमा विभिन्न देशहरूले यो मानव अधिकार उल्लंघनमा दोषी ठहरिएकाहरूलाई विदेश भ्रमणमा जाँदाखेरी रोका गरिएका घटनाहरू समेत छन् । त्यसकारण यो अत्यन्तै गम्भीर विषय भएको हुनाले दोषीहरूले सफाइ लिने र सरकारले यसमा एउटा प्रक्रिया पूरा गर्ने दिशामा जानु पर्दछ । यो प्रतिवेदन कार्यान्वयनमा लैजानु पर्दछ ।”









प्रतिक्रिया दिनुहोस्