काठमाडौँ, १५ जेठ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वार्षिकोत्सवको अवसर पारेर चीनको हुनान प्रान्तमा ‘२०२६ नेपाल एभरेष्ट फिल्म फेस्टिभल’ सफलतापूर्वक सम्पन्न भएको छ ।
‘उज्यालो र छायाँ मिल्छन्, पहाडहरू एकसाथ चम्कन्छन्’ (छाया र छविको संगम, हिमालको साझा चमक) भन्ने मूल नाराका साथ अप्रिल १४ देखि १९ सम्म हुनानका दुई प्रमुख सहरहरू छाङ्शा र हेङयाङमा यो महोत्सव आयोजना गरिएको हो ।
चिनियाँ दर्शकमाझ नेपालको अद्वितीय हिमाली परिदृश्य, संस्कृति र मानवीय संवेदनालाई प्रस्तुत गर्न महोत्सवमा ६ वटा उत्कृष्ट र अत्यधिक रुचाइएका नेपाली फिल्म छनोट गरिएका थिए । जसमा कबड्डी ४, छक्का पञ्जा ५, महाजात्रा, अञ्जिला, तेल भिसा र होस्टेल ३ रहेका छन् ।
आयोजकका अनुसार प्रदर्शित यी मध्ये कुनै दुई फिल्मलाई चिनियाँ फिल्म हल वा ओटीटी प्लेटफर्ममार्फत बजार व्यवस्थापन गरिनेछ । यसको अन्तिम निर्णय हुन केही समय लाग्ने चिनियाँ पक्षले जनाएको छ ।
नेपाली नयाँ वर्ष २०८३ को अवसरसँग जुराएर अप्रिल १४ मा छाङ्शामा उद्घाटन समारोह आयोजना गरिएको थियो । समारोहमा हुनान प्रान्तीय कमिटीका पदाधिकारी, सिसिपीटी, सियाओसियाङ फिल्म ग्रुप र प्रान्तीय चलचित्र उद्योगका प्रतिनिधिको बाक्लो उपस्थिति थियो । यसबारे जानकारी दिन काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरियो । सो अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले दुई देशको ऐतिहासिक मित्रताको चर्चा गर्दै चिनियाँ निर्मातालाई नेपालमा छायाङ्कनका लागि आमन्त्रण गरे ।
उनले यसका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै ‘चलचित्र पर्यटन’ को अवधारणा अगाडि सारे । त्यसैगरी, एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभलका अध्यक्ष करूण थापाले महोत्सवलाई चिनियाँ बजारमा नेपाली चलचित्र प्रवेश गर्ने र सह-निर्माणको ढोका खोल्ने महत्वपूर्ण माध्यमको रूपमा रहेको बताए ।
चिनियाँ पक्षका तर्फबाट अध्यक्ष जियाङ बोले सन् २०२१ देखिको दुई वर्षभन्दा बढीको अथक प्रयासपछि महोत्सवले पूर्णता पाएको स्मरण गर्दै यसलाई विश्वव्यापी मञ्चमा लैजाने सांस्कृतिक सेतुको रूपमा वर्णन गरे । सियाओसियाङ फिल्म ग्रुपका प्रतिनिधि ली चेङले दुई देशबीच चलचित्र सहकार्य, प्रतिभा विकास र बजार प्रवद्र्धनमा आफ्नो समूहले ‘नाविक’को भूमिका खेल्ने प्रतिज्ञा गरे ।









प्रतिक्रिया दिनुहोस्