काठमाडौँ, १६ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
८ औँ राष्ट्रिय महिला अधिकार दिवस, २०८३ को अवसरमा आज नेपाली दिदीबहिनीमा बधाई सहित सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले महिलामाथि हुने सबै प्रकारका हिंसा, विभेद र असमानताविरुद्ध सामूहिक आवाज उठाउने अवसरका रूपमा पनि यस दिवसलाई लिन सक्नुपर्ने उल्लेख गरे ।
उनले भनेका छन्, “महिला अधिकारको प्रत्याभूतिबिना समाजको समान विकास सम्भव छैन, शिक्षा, स्वास्थ्य, सीप विकास, आर्थिक स्वतन्त्रता, राजनीतिक सहभागिता, कानुनी सुधार र नेतृत्वमा महिलाको सम्मानजनक उपस्थिति सुनिश्चित गर्न सरकार, नागरिक समाज तथा सबै क्षेत्रबिच सहकार्य अपरिहार्य छ ।”
आमा वा बुबामध्ये एकको नामबाट सन्तानलाई नागरिकता प्राप्त गर्ने व्यवस्था, राज्यका सबै संरचनामा कम्तीमा एक तिहाइ महिलाको सहभागिता सुनिश्चित गर्ने संवैधानिक प्रावधान, विभेदकारी कानुनको खारेजी तथा महिलामाथि हुने हिंसा अन्त्य गर्ने प्रतिबद्धताजस्ता उपलब्धि दिवसका आधार स्तम्भ भएको उपराष्ट्रपति यादवले बताएका छन् ।
दिवसले महिला अधिकारको संरक्षण र प्रवर्धनसँगै लैङ्गिक समानता, महिला सशक्तीकरण, न्याय र समावेशी समाज निर्माणको मार्गलाई थप सशक्त बनाउँदै अघि बढ्न उत्प्रेरित गर्ने उपराष्ट्रपति यादवको विश्वास छ ।










प्रतिक्रिया दिनुहोस्