राजनीति

भदौ २३ र २४ लाई युवाहरूको हत्या प्रपञ्च गर्नेहरूले क्रान्ति भनेका छन् : अध्यक्ष ओली



काठमाडौँ, २० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना नियोजित रूपमा भएको बताएका छन् ।

 आज केन्द्रीय सङ्गठन विभागले काठमाडौँमा आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले उक्त दुई दिने घटनालाई युवाहरूको हत्याको प्रपञ्च गर्नेहरुले क्रान्ति भन्ने गरे पनि त्यो नियोजित र षडयन्त्रपूर्ण घटनाका रूपमा चित्रित गरे । 

उनले भने, ‘गत भदौ २३ र २४ गतेको आन्दोलनलाई कसैले आन्दोलन र कसैले क्रान्ति भन्छन् । गर्नेहरूले क्रान्ति भन्ने नै भए । युवाहरूको हत्याको प्रपञ्च गर्नेहरुले क्रान्ति भन्ने गरेका छन्’, ‘काँक्रो आफूले खाइसकेपछि बिया अर्कोको गलामा टाँसिएको छ । ’

अध्यक्ष ओलीले उक्त घटना षडयन्त्रपूर्ण र पूर्वनियोजित षडयन्त्र थियो भन्ने कुरा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको सार संक्षेपमै उल्लेख रहेको बताए । 

ओलीले आफ्नो नेतृत्वको सरकार संवैधानिक लोकतान्त्रिक हिसाबले बलियो अवस्थामा रहेकाले त्यस सरकारलाई संवैधानिक कानुनी संसदीय बाटोबाट अनेक बाटोबाट ध्वास्त पार्ने प्रयास सफल नभएपछि आपराधिक मार्गबाट विस्थापन गर्ने षड्यन्त्र भएको बताए । ‘त्यसका निम्ति तालिमहरू भए । आगो कसरी लगाउने, पेट्रोल बम कसरी बनाउनेजस्ता प्रयास भए’, उनले अराजकता अझै कायमै रहेको भन्दै थपे, ‘राष्ट्रद्रोही र आगो लगाउनेजस्ता कुरा सर्लक्क पचाउने काम भएको छ ।’