राजनीति

सर्वसत्तावादले संसद्‌मा विरोध गर्न बाध्य बनायो : ऐन महर  



काठमाडौँ, २१ जेठ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकार सर्वसत्तावादी अभ्यासमा रहेकाले संसद् अवरोध गर्नुपरेको बताएका छन् ।

आज एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूहरूलाई विरोध गर्ने रहर नहुँदानहुँदै सरकारले बाध्य पारेको बताएका हुन् ।

उनले भने, ‘लड्ने, विरोध गर्ने रहर हुँदैन । हाम्रो रहर पटक्कै छैन । हामी रहरले रमाइलो मानेर त्यो गरिरहेका छैनौं,’ ‘हामीलाई के थाहा छ भने, जनताका आवाज बुलन्द हुने, जनताका समस्या समाधान गर्ने, जनताका समस्या नै राख्ने ठाउँ हो संसद् ।  सार्वभौम थलो हो । त्यसकारण बन्धक बनाइनु हुँदैन, त्यसलाई अवरोध गरिनु हुँदैन ।’

संसद्लाई जति चलायो, त्यति जनताका समस्या त्यहाँ आउने र ऐन, कानुन बन्ने कुरामा आफू जानकार रहेको उनले बताए । ‘संसद् सरकारलाई उत्तरदायी बनाउने थलो पनि हो, त्यसकारण त्यसलाई अवरोध गरेर, विरोध गर्नु राम्रो होइन, त्यसले देशलाई राम्रो गर्दैन भन्ने कुरामा हामी संवेदनशील पनि छौं, सचेत पनि छौं,’ उनले भने ।