राजनीति

सूनपा–३ मा सार्वजनिक सुनुवाई सम्पन्न



भक्तपुर, २१ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ३ मा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहयोगमा आज वडा कार्यालयमा सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडाले चालु आर्थिक वर्षभित्रमा गरेका पूर्वाधारको विकास, प्रशासनीक सेवा प्रवाह, सामाजिक कार्यलगायतका विषयहरुलाई समेटेर जनताका गुनासा, प्रश्न र सुझावहरुलाई समेट्दै सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । सुनुवाईमा विकासको आयाम, सुशासन तथा सामाजिक कार्य र सेवा प्रवाहबारे विस्तृतमा प्रस्तुत गरियो ।

कार्यक्रममा वडासचिव शेसराज दाहालले वडामा चालु आर्थिक वर्षमा ३० वटा आयोजनाहरु रहेका्े उल्लेख गर्दै अधिकांश निर्माण सम्पन्न भएको जानकारी गराउनुभयो । ३२६ जनालाई सामाजिक सुरक्षाभत्ता वितरण गरेको जानकारी गराउँदै उहाँले चालु आवमा वडामा विभिन्न शिर्षकमा ८१ लाख ९८ हजार सात सय ४३ रुपैंया राजस्व संकलन भएको जानकारी दिनुभयो । उहाँले कतिपय योजनाहरु महंगीका कारण समस्या उत्पन्न भएको समेत बताउनुभयो ।

सुनुवाईमा सहभागीहरुले तुवाचो गणेश मन्दिरको पुननिर्माण, कतै आउने कतै नआउने खानेपानीको समस्या समाधान गर्नुपर्ने, सडक बत्ति राख्नुपर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने, किर्यापुत्री भवन बनाउनुपर्ने, गणेश प्राविको शैक्षिक गुणस्तर विकास गर्नुपर्ने, ढलको व्यवस्थापन गर्नुपर्ने, वडाका कार्यक्रममा जनतालाई जोड्नुपर्ने, जेष्ठ नागरिक, महिला, अपाङ्गता, एकल महिला लगायतलाई उचित सेवा तथा बजेट व्यवस्थापन गर्नुपर्ने, आवश्यक ठाउँहरुमा सीसी क्यामेरा जोड्नुपर्ने, जीवन सरस्वती प्रयोगशाला (योगा)को लागि भवनको व्यवस्थापन गर्नुपर्ने लगायतका माग, सुझाव तथा प्रश्नहरु गरिएको थियो ।

जवाफमा बालकोट प्रहरी प्रभागका प्रमुख पदम बहादुर बलारेले अपराध न्युनिकरण गर्न सार्वजनिक स्थानहरुमा सीसी क्यामेरा थप गर्नुपर्नेमा जोड दिनुभयो दिँदै विग्रिएकोलाई मर्मत गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै स्वास्थ्य चौकी बालकोटका प्रमुख सुशील धिमिरेले जेष्ठ नागरिकलाई स्वास्थ्य उपचारका कार्यहरु गरिरहेको भएता पनि सिमित स्रोतका कारण अपेक्षाकृत उपलब्धी हासिल गर्न नसकिएको बताउनुभयो । स्वास्थ्य चौकीले सुगर तथा प्रेसर रोगका विरामीलाई निशुल्क औषधी तथा उपचारको व्यवस्था भएको जानकारी गराउँदै उहाँले समय समयमा निशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो । त्यस्तै गर्भवती महिलाको लागि महिलानमा एक पटक अल्ट्रासाउण्डसहितको निशुल्क स्वास्थ्य परीक्षण गर्ने तयारी गरिरहेको जानकारी गराउँदै उहाँले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणको लागि थप औषधी तथा बजेट आवश्यकता रहेको औंल्याउनुभयो ।
बालकोट खानेपानीका सचिव हरिचन्द्र अधिकारीले केयुकेएल र नगरपालिकाको सम्झौता अनुसार अहिले केहि मात्रामा भएपनि राहत भएको बताउनुभयो । नयाँ व्यवस्थापन गर्न पाईपलाईन विस्तार गर्न समस्या रहेको औंल्याउँदै उहाँले सरकारले उपत्यका खानेपालीको प्रमुख कार्यकारी निर्देशकलाई हटाएका कारण लथालिङ्ग भएको गुनासो गर्नुभयो । अहिले भएको पानीलाई समान रुपले वितरण गरिरहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।

कार्यपालिका सदस्य हेमा दाहालले महिला, बालवालिका, अपाङ्ता, एकल महिला, दलित लगायतका लक्षित कार्यक्रमहरु जनताको माग अनुसार नै भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनताको माग अनुसार भौतिक विकास मात्र होइन, लक्षित कार्यक्रम अन्तरगत जीविको पार्जनको लागि सिलाई बुनाई, झोल साबुन बनाउने, धुप, व्युटिपार्लर, कषिलगायतका धरै तालिमहरु व्यवस्थापन गरेका छौं । त्यतिमात्र होइन, व्यवसाय बजेट अभाव भए वडाले सहयोग समेत गर्नेछ ।’
जवाफमा वडाध्यक्ष दीपेन्द्र केसीले योजना धेरै भन्दा पनि बजेट बढाउन आवश्यक रहेको बताउनुभयो । गणेश मन्दिरको पुननिर्माण गर्ने प्रतिवद्धता जनाउँदै उहाँले गणेश आधारभुत प्राविलाई गुणस्तर बनाउन आवश्यक भवन निर्माणको योजना रहेको सुनाउनुभयो । एक वर्षमा दुई करोड ६० लाख बजेट वडामा आउने उल्लेख गर्दै उहाँले उपभोक्ता समितिमा विवाद हुने भएकाले सवै योजनाको लागि सवै टेण्डर प्रकृयामा अगाडी बढाउने योजना रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘वडा नं. ३ र ४ को सीमानामा सार्वजनिक भवन बनाउन पहल भइरहेको छ । वडामा आफ्नै खानेपानीको स्रोत नभएकाले वडावासीलाई खानेपानीको समस्या समाधान गर्न केयुकेएलसँग सहकार्य भइरहेको छ । अब तत्काल समस्या समाधान हुन्छ । त्यस्तै वडाका सम्पूर्ण टोल टोलमा समानुपातिक तरिका तथा आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको छ । तसर्थः हामीले प्रचार होइन, काम गरेर देखाएका छौं ।’
ढल निर्माण गर्न स्थानीय साझेदारी अनुसार ६०–४० अनुसार गर्न आग्रह गर्दै उहाँले ढलका समस्या समाधान गर्न प्रयास भइरहेको जानकारी गराउनुभयो । कार्यक्रमहरुको बारेमा वडाको सूचना पाटीमा सूचना उपलब्ध हुने गरेको उल्लेख गर्दै उहाँले सीपमूलक कार्यक्रमहरु माग भए बजेटमा कुनै समस्या नभएको बताउनुभयो । सडकमा सीसी क्यामेराको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउँदै जीवन विज्ञान प्रयोगशालाको लागि जग्गा उपलब्ध भए भवन बनाउन वडाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
संस्थाका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम संयोजक पुस्करराज बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै सचिव हेमराज ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने सल्लाहकार दिवश गुरागाईले विषय प्रवेश गराउनुभयो ।