राजनीति

कांग्रेसले थप्यो क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद



काठमाडौँ, २२ जेठ । नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको डिजिटल्ली अद्यावधिक’ गर्न समय थप गरेको छ ।

महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले अब एकमुस्ट समय नथप्ने बताए पनि अन्तिममा आएर समितिले जेठ २८ गते रातिसम्म म्याद थपेको हो । यसअघि समय थपेर बिहीबारसम्मका लागि समय दिइएको थियो । पौडेल नेतृत्वको समितिको वैशाख ३१ गते बसेको बैठकले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिक सम्बन्धी कार्य २०८३ जेठ २१ गते भित्र अनिवार्य रूपमा सम्पन्न गर्नु पर्ने निर्णय गरेको थियो ।

१५ औँ महाधिवेशनका लागि नवीकरण गरेका क्रियाशील सदस्यहरूले अनिवार्य रूपमा ‘डिजिटल्ली अद्यावधिक’ गर्नुपर्ने प्रावधान क्रियाशील सदस्यता व्यवस्थापन समितिले राखे पनि निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले भने १५ औँ महाधिवेशनका लागि भन्दै नवीकरण गरिएका क्रियाशील सदस्यहरूले पुनः अद्यावधिक नगर्ने अडान राखेका छन् । 

त्यसैले १४ औँ महाधिवेशनमा रहेका ८ लाख ७० हजार बढी क्रियाशील सदस्यमध्ये अहिलेसम्म त्यो संख्याको आधाले मात्रै ‘डिजिटल्ली अद्यावधिक गरेका छन् । विशेष महाधिवेशन गर्नु अगाडि कांग्रेसले १५ औँ महाधिवेशनका लागि तयारी गरेको थियो । त्यो बेलासम्म कांग्रेसले ४ लाख ५० हजारले क्रियाशील सदस्यता नवीकरण गरेका थिए ।