राजनीति

सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै



काठमाडौँ, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाएको छ । 

रास्वपाका सभापति रवि लामिछानेले मुलुकको पछिल्लो राजनीतिक अवस्था र एजेन्डाहरूमा साझा धारणा बनाउने उद्देश्यले सोमबार बिहान ९ बजेका लागि यो बैठक आह्वान गरेका हुन् । उक्त सर्वदलीय छलफल सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को प्रभावकारिता र अन्य महत्त्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रहेर राजनीतिक दलहरूबिच संवाद हुने बताइएको छ ।

बैठकमा सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई सहभागी हुन अनुरोध गरिएको छ । छलफललाई व्यवस्थित र निर्णयमुखी बनाउनका लागि प्रत्येक राजनीतिक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना नेतालाई सहभागी हुन आमन्त्रण गरिएको छ ।