राजनीति

प्रमुख सचेतकहरूको बैठक बस्दै



काठमाडौँ, २५ जेठ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्। 

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सोमबार बिहान साढे ९ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा सभामुखले प्रमुख सचेतकहरूको बैठक बोलाएको जानकारी दिए । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको र नयाँ समिति गठन हुन नसकेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले बैठक आह्वान गरेका हुन् ।

विपक्षी दलहरूले जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्दै दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र उनले सदनमा आएर माफी माग्नुपर्ने माग राख्दै आएका छन्। यही मागलाई लिएर विपक्षीले लगातार सदनमा अवरोध गर्दै आएका हुन् ।